काठमाडौं । कालीगण्डकी र रिडी खोलाको बहाव बढेसँगै गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्थित लामोचौपारी आसपासका बस्तीमा जोखिम बढेको छ। जोखिमलाई मध्यनजर गर्दै स्थानीयलाई सतर्क गराउँदै प्रभावित क्षेत्रका बस्ती खाली गराउन थालिएको छ।
खोलाको पानीको सतह बढ्दै गएपछि स्थानीयवासीले घरभित्र रहेका सामानहरू सुरक्षित स्थानमा सार्न थालेका छन्। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय युवाहरूले सक्रियतापूर्वक सहयोग गरिरहेका छन्। गएराति रुरुक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष नवराज विकसहित स्थानीय युवाहरूले जोखिममा परेका घरपरिवारका सामान सुरक्षित ठाउँमा सार्न सहयोग गरेका थिए। स्थानीय प्रेम भण्डारीका अनुसार रातिदेखि नै युवाहरूको सक्रियतामा सामान स्थानान्तरणको काम भइरहेको थियो। खोलाको प्रभाव अझ बढ्न सक्ने भएकाले नदी तथा खोला किनारका बस्तीमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।