काठमाडौं ।भारतको सिक्किमस्थित ग्याल्सिङ जिल्लाको रिम्बी क्षेत्रमा सक्रिय पहिरो बस्तीतर्फ फैलिँदा जनजीवन प्रभावित भएको छ।
अगस्ट १३ देखि निरन्तर सक्रिय रहेको पहिरो बिहीबार राति बस्तीमा प्रवेश गरेपछि दुईवटा घर पूर्ण रूपमा बगेका छन्।पहिरोका कारण केही अन्य घर तथा स्थानीय पूर्वाधारमा समेत क्षति पुगेको जनाइएको छ। अहिलेसम्म मानवीय क्षतिको विवरण भने सार्वजनिक भएको छैन।घटनापछि सिक्किम सरकारका मन्त्री छिरिङ टी। भुटिया, राहत आयुक्त तथा विपद् व्यवस्थापन सचिव रिन्जिङ छेवाङ भुटिया र जिल्लापाल तेन्जिङ डी.डेन्जोङसहितको सरकारी टोलीले प्रभावित क्षेत्रको निरीक्षण गरेको छ। टोलीले स्थानीय बासिन्दासँग भेटेर क्षतिको अवस्थाबारे जानकारी लिएको छ।
सरकारले प्रभावित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने तयारी गरेको छ। जोखिममा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा सारेर अस्थायी राहत शिविर सञ्चालन गरिएको छ। शिविरमा खाद्यान्नलगायत आवश्यक सामग्रीको व्यवस्था मिलाउन थालिएको छ।मन्त्री भुटियाले घटनाबारे मुख्यमन्त्रीलाई जानकारी गराइएको र प्रभावित परिवारलाई राज्य सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन्।लगातार भइरहेको वर्षाका कारण पहिरो थप फैलिन सक्ने जोखिम रहेकाले स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ। विशेषगरी रातिको समयमा अनावश्यक आवतजावत नगर्न र जोखिम देखिए तत्काल सुरक्षित स्थानमा जान प्रशासनले अपिल गरेको छ।