काठमाडौं ।रुपन्देहीको तिनाउ नदीमा जलसतह सतर्कताको तहभन्दा माथि पुगेपछि नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
निरन्तर वर्षाका कारण पानीको बहाव थप बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ।तिनाउ आसपासका होचा तथा डुबानको सम्भावना भएका क्षेत्रमा जोखिम बढेकाले स्थानीयलाई नदी किनारतर्फ नजान र आवश्यक सतर्कता अपनाउन भनिएको छ।यसैबीच बुटवलस्थित तिनाउ पुलमुनि बस्दै आएका २० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पुलमुनि बस्दै आएका विभिन्न परिवारका सदस्यलाई कान्ति माध्यमिक विद्यालयमा राखिएको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार तिनाउको जलस्तर बढेसँगै जोखिममा रहेका परिवारलाई समयमै सुरक्षित स्थानमा सारिएको हो। नदी आसपासका अन्य जोखिमयुक्त क्षेत्रमा समेत सम्भावित क्षति रोक्न आवश्यक तयारी भइरहेको उनले बताएका छन्।लगातार वर्षा भइरहेकाले तिनाउ नदीको बहावमा थप वृद्धि हुन सक्ने भन्दै सम्बन्धित निकायले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।