काठमाडौं ।अर्घाखाँचीको सन्धिखर्कबाट गोरुसिङ्गेतर्फ जाने सडकखण्डमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको छ।
लगातार भइरहेको वर्षाका कारण सडकका विभिन्न भागमा पहिरो खसेको हो।नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार शुक्रबार सडकखण्डका धेरै ठाउँमा पहिरो गएपछि सवारी आवागमन प्रभावित भएको हो।सडकमा खसेको पहिरो हटाएर यातायात पुनः सञ्चालन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। सडक सफा गर्ने काम पूरा नभएसम्म उक्त रुटमा कुनै पनि सवारीसाधनलाई आवतजावत गर्न अनुमति दिइएको छैन।लगातार वर्षा भइरहेकाले थप पहिरो खस्न सक्ने जोखिम रहेको भन्दै यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको अवस्था नबुझी यात्रा नगर्न आग्रह गरिएको छ।