काठमाडौं ।सुदूरपश्चिमका पहाडी क्षेत्रबाट धनगढी आउने तथा धनगढी हुँदै काठमाडौँ, पोखरालगायतका गन्तव्यतर्फ जाने लामो दूरीका सार्वजनिक यातायात सेवा प्रभावित भएका छन्।
लगातारको वर्षा, बाढी र पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै यातायात व्यवसायीले केही दिनका लागि लामो दूरीका बस सञ्चालन स्थगित गरेका हुन्। यसबाट पहाडी जिल्लाबाट धनगढी हुँदै बाहिरिने यात्रुहरू प्रभावित भएका छन्।यातायात व्यवसायीका अनुसार शुक्रबारदेखि आइतबारसम्म विभिन्न रुटमा लामो दूरीका बस नचलाउने निर्णय गरिएको छ। विशेषगरी काठमाडौँ र पोखरातर्फ जाने रात्रिबस सेवा रोकिएको छ।बस सेवा बन्द भएपछि यात्रुहरू छोटो दूरीमा चल्ने सवारीसाधनको भरमा गन्तव्यतर्फ जानुपर्ने अवस्था आएको छ। कतिपय रुटमा त्यस्ता सवारी पर्याप्त नहुँदा यात्रुले थप कठिनाइ भोग्नुपरेको बताइएको छ।
सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्द शाहका अनुसार प्रतिकूल मौसमका कारण बिहीबारदेखि रात्रिबस सेवा रोकिएको हो। पहाडी तथा विकट क्षेत्रमा जाने सवारीसमेत मौसमको अवस्था हेरेर मात्र सञ्चालन गर्ने तयारी गरिएको उनले बताएका छन्।धनगढीबाट पोखरा दैनिक दुई तथा काठमाडौँतर्फ १३ वटा रात्रिबस सञ्चालन हुँदै आएका थिए। तर मौसम बिग्रिएपछि ती बसलाई तत्काल गन्तव्यतर्फ नपठाइएको व्यवसायीले जनाएका छन्।यातायात व्यवसायीहरूले यात्रु र चालकको सुरक्षालाई प्राथमिकतामा राखेर सेवा अस्थायी रूपमा रोकिएको बताएका छन्। मौसम सामान्य भएपछि मात्रै नियमित बस सेवा पुनः सञ्चालन गरिने उनीहरूको भनाइ छ।व्यवसायीहरूले अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नुपर्ने अवस्थामा सम्बन्धित यातायात कम्पनीसँग सेवा सञ्चालनको अवस्थाबारे जानकारी लिएर मात्र हिँड्न यात्रुलाई आग्रह गरेका छन्।