काठमाडौं ।धादिङमा लगातार भइरहेको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत विभिन्न पाँच स्थानमा पहिरो खसेपछि सडक यातायात प्रभावित भएको छ।
कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द छ भने केही ठाउँमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बेनीघाट रोराङ गाउँपालिकाका कृष्णभिर, तिग्राडखानी, ज्यामिरेघाट र ज्वाङखोला तथा गजुरी गाउँपालिका–२ को परेवा भिरमा पहिरोका कारण सडकमा अवरोध सिर्जना भएको हो।बेनीघाट रोराङ–७ स्थित कृष्णभिरमा ढुङ्गासहित पहिरो झरेपछि सडकको दुवैतर्फ सवारी आवागमन रोकिएको छ। पहिरो हटाउने प्रयास भइरहे पनि माथिबाट निरन्तर ढुङ्गा खसिरहेकाले काम प्रभावित भएको प्रशासनले जनाएको छ।
त्यसैगरी तिग्राडखानी र ज्यामिरेघाटमा पनि पहिरोसँगै ढुङ्गा खसेपछि दुवैतर्फको आवागमन रोकिएको छ। ती स्थानमा सडक खुलाउने प्रयास भइरहेको छ।गजुरी–२ को परेवा भिरमा रुखसहित पहिरो खसेकाले सडक एकतर्फी सञ्चालनमा छ। ज्वाङखोलामा पनि ढुङ्गासहितको पहिरो खसेपछि एकतर्फी यातायात मात्र चलिरहेको प्रशासनले जनाएको छ।धादिङमा वर्षा जारी रहेकाले थप पहिरोको जोखिम रहेको भन्दै प्रशासनले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनको अनुरोध छ।