काठमाडौं ।लगातारको वर्षापछि काठमाडौं र भक्तपुर जोड्ने मनोहरा खोलाको पुल जोखिममा परेको छ।
पुलको छेउमा रहेको ग्याबिन जालीसहितको जमिन भासिएपछि प्रहरीले उक्त पुलबाट सवारी तथा पैदल आवागमनमा रोक लगाएको छ।मुलपानी र भक्तपुरको बोडे जोड्ने उक्त पुलको संरचनानजिकै जमिन भासिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले जानकारी दिएका छन्।उता भक्तपुरको खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेको छ। डेकुचाबाट चाँगुनारायणतर्फ जाने सडकसम्म खोलाको पानी पुगेपछि उक्त क्षेत्रमा समेत आवागमन प्रभावित भएको छ।
यसैबीच लोकन्थलीनजिकै सागबारी क्षेत्रमा नदीको सतह बढेर अस्थायी टहरासम्म पानी पुगेको छ। जोखिम बढेपछि प्रहरीले त्यहाँ बस्दै आएका मानिसलाई सुरक्षित स्थानमा सारेको छ। उनीहरूलाई नजिकै रहेको आदर्श जनप्रेमी माध्यमिक विद्यालयमा राखिएको एसपी खड्काले बताएका छन्।बालकोट र लोकन्थलीको सीमाक्षेत्रमा पर्ने सागबारीमा हनुमन्ते, मनोहरा र गोदावरी खोलाको पानी मिसिने भएकाले वर्षाका बेला उक्त क्षेत्र डुबानको जोखिममा पर्ने गरेको छ।बिहीबारदेखि निरन्तर वर्षा भइरहेकाले काठमाडौं उपत्यकाका नदी तथा खोलानालाको जलस्तर बढ्दै गएको छ। जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन र आवश्यकताबाहेक आवतजावत नगर्न आग्रह गरिएको छ।