काठमाडौं ।पृथ्वी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढेको छ।
भीड व्यवस्थापन र यात्रुलाई सहज बनाउन मकवानपुर प्रशासनले राजमार्गमा निश्चित समय तोकेर आलोपालो सवारी सञ्चालन गर्ने व्यवस्था गरेको छ।जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौँडाबाट काठमाडौं जाने र काठमाडौं हुँदै हेटौँडा आउने सवारीलाई छुट्टाछुट्टै समय दिइएको छ।हेटौँडाबाट काठमाडौं जाने सवारीले चौकीटोलबाट असोज ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म यात्रा गर्न पाउनेछन्। असोज १० गते बिहान ४ बजेदेखि ८ बजेसम्म तथा सोही दिन राति १० बजेदेखि असोज ११ गते बिहान २ बजेसम्म पनि आवागमन खुला रहनेछ।
काठमाडौंबाट हेटौँडा आउने सवारीका लागि भने सिमभञ्ज्याङ चौकीबाट असोज ९ गते साँझ ७ बजेदेखि राति ११ बजेसम्मको समय तोकिएको छ। असोज १० गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र असोज ११ गते बिहान ७ बजेदेखि ११ बजेसम्म पनि सवारी सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ।ठूला मालवाहक सवारीलाई भने तत्कालका लागि त्रिभुवन राजपथमा रोक लगाइएको छ। इन्धन र एलपी ग्यास ढुवानी गर्ने सवारीबाहेक अन्य ठूला मालवाहक गाडी सञ्चालनमा अर्को सूचना नआएसम्म प्रतिबन्ध रहनेछ।
१० चक्केभन्दा ठूला तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई सडकमा चलाउन रोक लगाइएको छ। यात्रुवाहक बसमा पनि अधिकतम ११ मिटर लम्बाइसम्मका बसलाई मात्र अनुमति दिइएको छ।प्रशासनले तोकिएको समयमै यात्रा गर्न र सडक तथा मौसमको अवस्था हेरेर सम्भावित जोखिमबाट बच्न चालक, व्यवसायी तथा यात्रुलाई आग्रह गरेको छ।