काठमाडौं ।काठमाडौंको फोहोर नुवाकोट पुर्याउने काम फेरि पहिरोका कारण प्रभावित भएको छ।
शुक्रबार बिहान ल्यान्डफिल साइट नजिकै पहिरो खसेपछि फोहोर बोकेर पुगेका सवारीसाधन बाटोमै रोकिएका छन्।ल्यान्डफिल क्षेत्र आसपास माथिल्लो भागबाट लेदो र माटो खस्ने क्रम नरोकिएपछि फोहोर बोकेका गाडीलाई अगाडि बढाउन समस्या भएको हो।काठमाडौं महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार पहिरोबाट आएको लेदो र माटो सडकमा थुप्रिएपछि सवारीसाधन ल्यान्डफिल साइटसम्म पुग्न सकेका छैनन्।
वर्षा जारी रहेकाले पहिरो थप खस्न सक्ने जोखिमसमेत रहेको छ। यसले काठमाडौंको फोहोर व्यवस्थापनमा थप समस्या निम्त्याउन सक्ने देखिएको छ।