काठमाडौं । तिनाउ गाउँपालिका–५ मा पर्ने चरचरे र जोरधाराबीच सिद्धार्थ राजमार्गमा सडक माथिबाट पहिरो खसेपछि राजमार्गको आवागमन रोकिएको छ।
पहिरोका कारण सडकमा सवारीसाधन रोकिँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।यसैगरी रिब्दीकोट गाउँपालिका–५ को माराबास र बोदीको बतासे हुँदै रैनादेवी छहरा गाउँपालिका जाने भित्री सडकमा पनि पहिरो खसेको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।वर्षा नरोकिएकाले सडक खुलिसकेपछि पनि पुनः पहिरो खस्ने सम्भावना रहेको प्रहरीको भनाइ छ। त्यसैले उक्त क्षेत्रमा यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।