काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक संरक्षणका लागि निर्माण गरिएको ग्याबियन वाल लगातारको वर्षापछि भासिएको छ।
पुरानो सडकको नदीतर्फको संरचना तल खसेपछि त्यसको प्रभाव हाल सञ्चालनमा रहेको नयाँ ट्र्याकमा पर्न सक्ने जोखिम देखिएको छ।जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार नयाँ ट्र्याकभन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल वर्षाका कारण भासिएको हो। उनका अनुसार उक्त संरचनामा आएको क्षतिले माथिल्लो सडकमा समेत असर पार्न सक्ने अवस्था छ।
सडक विभागले पनि कृष्णभिरमा सडकको नदीतर्फ रहेको ग्याबियन वाल केही तल सरेको पुष्टि गरेको छ। यद्यपि हाल सञ्चालनमा रहेको सडकको माथिल्लो भागको स्लोपमा भने तत्काल कुनै समस्या नदेखिएको विभागले जनाएको छ। सडकको अवस्था प्रोजेक्ट टिमले निरन्तर निरीक्षण गरिरहेको बताइएको छ।बेनीघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार नयाँ ट्र्याकलाई टेवा दिन बनाइएको ग्याबियनको आधार क्षेत्र नै भासिएको छ। उनले जोखिम बढेकाले उक्त सडकखण्ड भएर यात्रा गर्दा सावधानी अपनाउन तथा सम्भव भएसम्म यात्रा नगर्न आग्रह गरेका छन्।
यसअघि भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभिरमा पृथ्वी राजमार्गको सडक ठूलो क्षति पुगेको थियो। सडक कटान भएपछि राजमार्ग केही समय अवरुद्ध बनेको थियो।क्षतिग्रस्त भागमा नयाँ ट्र्याक निर्माण गरेर असोज १ गतेदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो। तर अहिले नयाँ ट्र्याकलाई टेवा दिने संरचनामै क्षति देखिएपछि सो सडकखण्डको सुरक्षामाथि पुनः प्रश्न उठेको छ।