काठमाडौं। लगातारको वर्षापछि पहिरो खस्दा बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड अवरुद्ध भएको छ।
शुक्रबार बिहान रोशी गाउँपालिका–७ को चारसयबेँसी र रोशी–८ स्थित गिम्दीमा पहिरो खसेपछि सडकमा यातायात सञ्चालन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षाका कारण राजमार्ग क्षेत्रमा बाढी तथा पहिरोको जोखिम बढेपछि यसअघि नै रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको थियो। जल तथा मौसम विभागको पूर्वानुमानलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोकतर्फको बीपी राजमार्ग खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार हाल असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। मौसम तथा सडकको अवस्था हेरेर आवश्यक परे दिउँसोको समयमा समेत आवागमन रोक्न सकिने प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी तथा पहिरोको अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको छ। जोखिम बढेमा जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय गरी दिउँसोसमेत सवारी सञ्चालनमा रोक लगाउन सक्नेछ।
राजमार्गको आवागमन व्यवस्थापनमा सहयोग पुर्याउन छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटलाई समेत समन्वयका लागि अनुरोध गर्ने निर्णय गरिएको छ। बैठकले नदी किनार तथा पहिरोको उच्च जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित जोखिमबारे सचेत गराउने निर्णयसमेत गरेको छ। साथै जोखिमसम्बन्धी सूचना नियमित रूपमा प्रवाह गर्ने र स्थानीय सञ्चारमाध्यममार्फत सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था मिलाइएको छ। प्रहरीले बीपी राजमार्गको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न तथा वर्षाका कारण जोखिम बढेको अवस्थामा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।