काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहका अनुसार नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा शाहले महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। महासभामा अन्य वक्ताहरूको क्रमअनुसार उनको सम्बोधनको समय केही अगाडि वा पछाडि हुन सक्ने बताइएको छ।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। शाह बुधबार राति अमेरिका पुगेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो। भ्रमण सम्पन्न गरी उनी असोज १० गते नेपाल फर्किने कार्यक्रम रहेको जनाइएको छ।