काठमाडौं ।देशका विभिन्न क्षेत्रमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिनलाई आधार बनाउँदै अध्यक्ष दाहालले बिहीबार राष्ट्रियसभा बैठकमार्फत असोज ९ देखि ११ गतेसम्म वर्षाको प्रभाव बढी देखिन सक्ने बताएका हुन्।बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने र त्यसबाट बाढी, पहिरो, भूक्षय तथा डुबानको जोखिम बढ्न सक्ने उनको भनाइ छ।
सम्भावित विपद्बाट जनधनमा क्षति हुन सक्ने भन्दै उनले नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न आग्रह गरेका छन्। जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई थप सावधानी अपनाउन पनि उनले अपिल गरेका छन्।भारी वर्षाका कारण तराई क्षेत्रमा डुबान, नदीमा पानीको सतह बढ्ने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सम्बन्धित निकायलाई पूर्वतयारीमा रहन अध्यक्ष दाहालले आग्रह गरे।
उनले विपद् व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारी संयन्त्रलाई तयारी अवस्थामा राख्नुपर्ने बताए। साथै नागरिक समाज, गैरसरकारी संस्था र स्थानीय समुदायसँग समन्वय गरी सम्भावित जोखिमबारे नागरिकलाई समयमै जानकारी गराउनुपर्नेमा जोड दिए।विगतका प्राकृतिक विपद्बाट सिकेर यसपटक सम्भावित क्षति कम गर्न पूर्वसतर्कता र तयारीलाई प्राथमिकता दिनुपर्ने अध्यक्ष दाहालको भनाइ छ।