काठमाडौं । फार्मेसी सञ्चालन गरेको देखाएर लागुऔषधको कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंको कागेश्वरी मनोहराबाट तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कालिकोटको पचाल झरना गाउँपालिका–८ का २३ वर्षीय हिमाल शाही र २१ वर्षीय हिरो बिक तथा शुभ गाउँपालिका–८ का २६ वर्षीय उमेशबहादुर शाही रहेका छन्।लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूलाई बुधबार कागेश्वरी मनोहरा नगरपालिका–९ बाट नियन्त्रणमा लिइएको हो।प्रहरीले उनीहरूले सञ्चालन गर्दै आएको फार्मेसीमा छापा मार्दा ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला पारेको जनाएको छ। बरामद सामग्रीमा ट्रामाडोलका ६ हजार १ सय १५ क्याप्सुल र नाइट्राजेपामका ५ हजार ७ सय ६० क्याप्सुल रहेका छन्।पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ। ब्युरोका अनुसार उनीहरूलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ।