काठमाडाैँ । लगातारको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडक खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।
जल तथा मौसम विज्ञान विभागले चितवनसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले यस्तो निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार जारी गरेको सूचनाअनुसार आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जारी गरेको सूचनामार्फत यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ। प्रशासनले विशेषगरी जोखिमयुक्त स्थानमा नजान तथा सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। मौसम तथा सडकको अवस्था प्रतिकूल बनेमा थप जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि प्रशासनले आग्रह गरेको छ।
