काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ।
बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरेका थिए। बैठकले अध्यक्ष ओलीको प्रस्ताव अनुमोदन गरेपछि भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको एक एमाले नेताले जानकारी दिए। भण्डारीलाई वरिष्ठ नेता बनाउने विषयमा बिहीबारकै सचिवालय बैठकमा समेत छलफल भएको थियो। त्यसपछि केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लगिएको हो।
भण्डारी एमालेकी पूर्वउपाध्यक्षसमेत हुन्। राष्ट्रपति पदबाट बाहिरिएपछि उनी पुनः सक्रिय राजनीतिमा फर्किने संकेत गर्दै एमालेको सदस्यता नवीकरण गरेकी थिइन्। उनले एमालेमै रहेर आफ्नो राजनीतिक यात्रा अघि बढाउने बताउँदै आएकी थिइन्। यद्यपि, उनले सदस्यता नवीकरणका लागि दिएको निवेदनलाई एमालेले केही समय ‘होल्ड’ मा राखेको थियो। त्यसपछि पार्टीभित्र उनको भूमिकालाई लिएर विभिन्न चरणमा छलफल हुँदै आएको थियो। अब एमालेले उनलाई औपचारिक रूपमा वरिष्ठ नेताको जिम्मेवारी दिएसँगै पार्टीभित्र उनको राजनीतिक भूमिकाले नयाँ स्वरूप लिएको छ।