काठमाडौं । भारीदेखि अति भारी वर्षाको सम्भावना बढेपछि दाङसहित आसपासका केही सडकखण्डमा रातिको समयमा यातायात बन्द गरिने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ गतेदेखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले सडक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।सूचनाअनुसार हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विभिन्न सडकखण्डमा आवागमन बन्द हुनेछ।
बन्द हुने सडकखण्डमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुबाङ–चकचके सडकको भालुबाङदेखि गनाहा खोलासम्म, शहीद मार्गअन्तर्गत घोराही–होलेरी, घोराही–मुढकुट्टी तथा तुलसीपुर–सुर्खेत सडकअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्मको सडक रहेका छन्।सम्भावित बाढी, पहिरो तथा सडक दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित सडक प्रयोगकर्तालाई सावधानी अपनाउन आग्रह गरिएको छ।