काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार चार दिनसम्म वर्षा हुनसक्ने जनाएकोपछि सुरक्षा निकायहरूले सम्भावित जोखिम क्षेत्रमा पूर्वतयारी तीव्र बनाएका छन्।
विशेषगरी बढी वर्षा हुने अनुमान गरिएको गण्डकी र लुम्बिनी प्रदेशमा उच्च सतर्कता अपनाइएको छ।सम्भावित बाढी तथा डुबानबाट बचाउन नदी तथा खोलाका तटीय क्षेत्रमा सुरक्षाकर्मीले माइकिङमार्फत स्थानीयलाई सचेत गराउन थालेका छन्। बागमतीका रोशी, सुनकोशी, त्रिशुली र इन्द्रावती तथा मधेसका बलान र बिहुल खोलाको आसपासका बस्तीमा पूर्वसूचना दिने काम भइरहेको नेपाल प्रहरीका डीआईजी अबि नारायण काफ्लेले जानकारी दिएका छन्। काठमाडौं उपत्यकाका नदी किनारमा पनि सुरक्षा सतर्कता बढाइएको छ।सुरक्षा निकायले वर्षाका कारण देशभर ६४९ स्थानलाई सम्भावित जोखिम क्षेत्रका रूपमा पहिचान गरेका छन्। तुलनात्मक रूपमा बढी जोखिम देखिएका गण्डकी र लुम्बिनीमा नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट तालिमप्राप्त थप सुरक्षाकर्मी परिचालन गरिएको डीआईजी काफ्लेले बताए।
यसैगरी सशस्त्र प्रहरी बलले जोखिमयुक्त क्षेत्रमा ११ हजार ७६३ जना सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको योजनाअनुसार विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका जनशक्तिलाई प्राथमिकताका साथ खटाइएको सशस्त्र प्रहरीका डीआईजी नेत्रबहादुर कार्कीले बताए।
सशस्त्र प्रहरीले सम्भावित बाढी तथा डुबानको अवस्थामा तत्काल उद्धार गर्न ८२ वटा र्याफ्ट बोट र ५३ वटा मोटरबोट तयारी अवस्थामा राखेको छ। तालिमप्राप्त गोताखोर र मेडिकल टोलीसमेत जोखिमयुक्त क्षेत्रमा तैनाथ गरिएको छ।तटीय बस्तीमा सुरक्षाकर्मीले स्थानीयलाई सम्भावित जोखिमबारे जानकारी गराउँदै नदी किनारमा दाउरा संकलन वा अन्य कामका लागि नजानसमेत सचेत गराइरहेका छन्।
सम्भावित खोज तथा उद्धारका लागि ड्रोन प्रयोग गर्न सक्ने टोलीसमेत जोखिम क्षेत्रमा तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। मधेस प्रदेशमा ७४ स्थान र काठमाडौं उपत्यकामा ५२ स्थान जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। मधेसमा कमला, चारनाथ, बलान र बिहुल खोलाका तटीय क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ।मौसमको प्रभाव ११ गतेसम्म रहने अनुमान रहेकाले त्यस अवधिभर जोखिमपूर्ण क्षेत्रमा सुरक्षाकर्मीको परिचालन निरन्तर रहने सशस्त्र प्रहरीले जनाएको छ। नेपाल प्रहरीले पनि जिल्ला विपद् व्यवस्थापन समितिको योजनाअनुसार विपद् प्रतिकार्यका लागि व्यापक तयारी गरिएको जनाएको छ।