काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद्का कारण प्रभावित नागरिकको सम्मान, गोपनीयता र अधिकार संरक्षणमा विशेष ध्यान दिन आग्रह गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राहत वितरणका क्रममा पीडितको अनुमति नलिई फोटो तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति रोक्नुपर्ने बताइन्। विशेषगरी बालबालिकाको पहिचान र सुरक्षामा संवेदनशील हुन उनले सम्बन्धित सबैलाई आग्रह गरिन्।मन्त्री वादीका अनुसार हालसम्म बाढीबाट प्रभावित ६ हजार ४ सय ५९ जनाले मनोसामाजिक प्राथमिक सहायता प्राप्त गरेका छन्। उद्धार तथा राहत कार्यमा परिचालित १ सय ५५ कर्मचारी र सुरक्षाकर्मीलाई तनाव व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ। त्यस्तै, प्रभावितलाई सहज र संवेदनशील सेवा उपलब्ध गराउन थप १ सय २ जनालाई अभिमुखीकरण गरिएको उनले जानकारी दिइन्।
विपद् व्यवस्थापनमा गैरसरकारी संस्थाको भूमिकाबारे जानकारी दिँदै मन्त्री वादीले समाज कल्याण परिषद्बाट परियोजना स्वीकृतिको प्रक्रिया छिटो बनाइएको बताइन्। उनका अनुसार भदौ १५ गतेदेखि हालसम्म १४९ वटा नयाँ परियोजना स्वीकृत भएका छन्।मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत करिब ५० करोड ४२ लाख रुपैयाँ बराबरको तथा राष्ट्रिय संस्थामार्फत २० करोड ५७ लाख रुपैयाँभन्दा बढी मूल्यको राहत सामग्री परिचालन गरिएको छ।राहत वितरणका क्रममा प्रभावित व्यक्तिको आत्मसम्मानमा चोट पुग्ने गतिविधि नगर्न आग्रह गर्दै मन्त्री वादीले सहयोग गर्दा पीडितको पीडा थप बढाउने नभई उनीहरूलाई सामान्य जीवनतर्फ फर्किन सहयोग पुग्ने वातावरण बनाउनुपर्ने बताइन्।
उनले बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक नगर्न तथा महिला र अन्य प्रभावित व्यक्तिलाई लक्षित गरी अपमानजनक भाषा प्रयोग नगर्न पनि आग्रह गरिन्।विपद्को अवस्थालाई गलत फाइदा उठाउँदै हुनसक्ने मानव बेचबिखन र लैङ्गिक हिंसा नियन्त्रणका लागि गृह मन्त्रालय तथा नेपाल प्रहरीसँगको समन्वयमा सीमा नाका र होल्डिङ सेन्टरमा निगरानी बढाइएको मन्त्रालयले जनाएको छ।मन्त्रालयले तत्कालीन राहत र उद्धारसँगै प्रभावितको पुनर्स्थापना, जीविकोपार्जनको पुनःस्थापना तथा दीर्घकालीन सामाजिक संरक्षणलाई पनि प्राथमिकतामा राखिएको जनाएको छ।