काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित सिधा उडान पुनः सञ्चालन गर्ने भएको छ।
कम्पनीका अनुसार आगामी २८ सेप्टेम्बर २०२६ अर्थात् असोज १२ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाईस्थित पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु हुनेछ। उडान पुनः सञ्चालनमा आएपछि काठमाडौं–सांघाई रुटमा नियमित सिधा उडान गर्ने हिमालय एयरलाइन्स एकमात्र नेपाली वायुसेवा कम्पनी बन्नेछ। यसले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
सुरुआतमा कम्पनीले यो रुटमा सातामा दुईवटा उडान गर्नेछ। काठमाडौं–सांघाई उडान हरेक सोमबार र शुक्रबार हुनेछ भने सांघाईबाट काठमाडौं फर्कने उडान मंगलबार र शनिबार सञ्चालन हुनेछ। यात्रुको माग र उडानमा हुने यात्रु चापका आधारमा आगामी दिनमा उडान संख्या थप गर्ने कम्पनीले जनाएको छ। हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–सांघाई सिधा उडानले नेपाल र चीनबीच पर्यटन, व्यापार तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए। नेपालको मुख्य पर्यटन सिजन सुरु हुने समयमा उडान पुनः सञ्चालन हुन लागेकाले चीनबाट नेपाल आउने पर्यटक बढ्ने र पर्यटन तथा आतिथ्य क्षेत्रलाई समेत लाभ पुग्ने कम्पनीको अपेक्षा छ। नेपाल–चीन संयुक्त साझेदारीमा सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्ससँग हाल चारवटा विमान छन्। कम्पनीले चीनसँगै मध्यपूर्व र दक्षिण एसियाका विभिन्न गन्तव्यमा यात्रुवाहक उडान सञ्चालन गर्दै आएको छ।