काठमाडौं ।नेपालगन्जबाट डोल्पा पुगेको सीता एयरको जहाज अवतरणका क्रममा प्राविधिक समस्या आएपछि धावनमार्गमै रोकिएको छ।
घटनामा जहाजको ल्याडिङ गियरमा क्षति पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार बिहीबार बिहान करिब ८ः२५ बजे सीता एयरको डोर्नियर जहाज डोल्पा विमानस्थलमा अवतरण गरेपछि ल्याडिङ रोलका क्रममा गियरमा समस्या देखिएको थियो। त्यसपछि जहाजलाई धावनमार्गमै रोकिएको हो।एन–एजेएच दर्ता नम्बरको उक्त जहाजमा १३ जना यात्रु र चालक दलका तीन सदस्य गरी १६ जना सवार थिए। उनीहरू सबै सुरक्षित रहेको प्राधिकरणले जनाएको छ।जहाजमा क्याप्टेन अजय प्रधान र क्याप्टेन अजय कुँवर पाइलटका रूपमा रहेका थिए। घटनापछि प्राधिकरणले जहाजको अवस्थाबारे आवश्यक जाँच गर्नुका साथै घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ।