काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातु बरामद भएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार कतारको दोहा हुँदै कतार एयरवेजबाट काठमाडौं आएका यात्रुसँग सम्बन्धित गतिविधिमाथि निगरानी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रमा बारा पचरौता नगरपालिका–१ का करिब ३३ वर्षीय अनिस अन्सारीको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका गरगहना ७९ दशमलव ६ ग्राम फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, दोहाबाट काठमाडौं आएका भारतका ४२ वर्षीय मोहम्मद चेरा थोडीको गतिविधि शंकास्पद देखिएपछि बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो। उनको जाँच गर्दा भन्सार छली गरी ल्याइएको आशंका गरिएको सुनजस्तो पहेँलो पदार्थ ५३६ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।बरामद सामग्रीसहित दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।