काठमाडौं ।काठमाडौं जिल्ला अदालतमा खटिएका नौ जना प्रहरी कर्मचारीको जिम्मेवारी परिवर्तन गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतको फैसला कार्यान्वयन इकाईमा कार्यरत केही प्रहरीलाई अन्य प्रहरी कार्यालयमा सरुवा गरेको हो।फैसला कार्यान्वयन इकाईमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नवराज देवकोटालाई प्रहरी वृत्त मालिगाउँ पठाइएको छ भने प्रहरी नायव निरीक्षक विकास थापाको जिम्मेवारी प्रहरी वृत्त नयाँ बानेश्वरमा तोकिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी सूर्यबहादुर खड्काका अनुसार केही दिनअघि प्रहरी कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।अदालतको फैसला कार्यान्वयन इकाईमा अब प्रहरी नायव निरीक्षक प्रदीपकुमार गोले र प्रहरी सहायक निरीक्षक विदुर खड्कालाई खटाइएको छ।
यसैगरी अदालतमा कार्यरत प्रहरी सहायक निरीक्षक छाया रुचाल, हवल्दार सरस्वती बर्मा, हवल्दार शिवचरण चौधरी, सहायक हवल्दार सानु तामाङ तथा प्रहरी जवान भुवन बर्देवा, राजीवकुमार ठाकुर र सन्तोषकुमार यादवलाई पनि अन्यत्र जिम्मेवारी दिइएको छ।अदालतको सुरक्षा व्यवस्थापनका लागि परिसरले वरिष्ठ हवल्दार नानीराम भण्डारीसहित नयाँ प्रहरी टोली खटाएको छ। नयाँ टोलीमा सहायक हवल्दार विमला साउँद तथा प्रहरी जवान गौरी चौधरी, ललिता लामा, सतेन्द्रकुमार गिरी, नरेश साह कानु, हिक्मत खड्का र रमेश डगौरा रहेका छन्।अदालतका एक अधिकृतका अनुसार सरुवा गरिएका देवकोटा र थापा फैसला कार्यान्वयनसम्बन्धी काममा तथा अन्य प्रहरी कर्मचारी अदालतको सुरक्षा व्यवस्थापनमा खटिएका थिए।