काठमाडौं ।सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमण बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै पछिल्लो एक महिनामा संक्रमणका कारण उपचाररत सात जनाको मृत्यु भएको बताएका छन्।उनका अनुसार संक्रमण फैलिने क्रम बढे पनि स्थानीय स्वास्थ्य संस्थामा रोग पहिचानका लागि आवश्यक परीक्षण किट पर्याप्त छैनन्। उनले तत्काल परीक्षणको व्यवस्था मिलाउँदै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्।
स्वास्थ्य मन्त्रालयले भने स्क्रब टाइफसलगायत सम्भावित संक्रामक रोगको समयमै पहिचान र उपचारका लागि जोखिमयुक्त क्षेत्रमा आवश्यक तयारी भइरहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार स्वास्थ्यकर्मीलाई अभिमुखीकरण, औषधि तथा परीक्षण सामग्रीको व्यवस्थापन र स्थानीय तहमा आकस्मिक बजेटको प्रबन्ध गरिएको छ।डा। अधिकारीले दार्मामा देखिएको घटनाको विस्तृत अध्ययन तथा स्वास्थ्य परीक्षणबाट पुष्टि हुन बाँकी रहेको बताएका छन्। मनसुनका बेला ज्वरो आउने अन्य कारणसमेत हुन सक्ने भएकाले लक्षण देखिएलगत्तै स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन उनले आग्रह गरेका छन्।
समयमै पहिचान गरी उपचार गरेमा स्क्रब टाइफसबाट हुने जटिलता र मृत्युको जोखिम घटाउन सकिने मन्त्रालयको भनाइ छ। प्रभावित क्षेत्रमा थप संक्रमण फैलिन नदिन प्रदेश, जिल्ला र स्थानीय स्वास्थ्य निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।ज्वरोका बिरामी असामान्य रूपमा बढेमा तत्काल परिचालन हुने गरी द्रुत प्रतिकार्य टोलीलाई समेत उच्च सतर्कतामा राखिएको र अवस्थाको निरन्तर निगरानी भइरहेको मन्त्रालयले जनाएको छ।