काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र बालेन शाहले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
मौसम विज्ञान विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म मेघगर्जन, चट्याङ, हावाहुरीसँगै भारी तथा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मौसमको यस्तो पूर्वानुमानलाई ध्यानमा राख्दै प्रधानमन्त्री शाहले सम्भावित जोखिमबाट जोगिन सबैलाई सचेत रहन आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न अनुरोध गरेका छन्। उनले जोखिमको अवस्था सिर्जना भए सम्बन्धित निकायले दिने निर्देशन पालना गर्न पनि नागरिकलाई आग्रह गरेका छन्।सम्भावित विपद्का घटनाबाट हुने क्षति कम गर्न सरकारले सम्बन्धित निकायलाई आवश्यक तयारी, आपसी समन्वय र पूर्वसतर्कता अपनाउन निर्देशन दिएको प्रधानमन्त्री शाहले बताएका छन्।भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा अन्य विपद्को जोखिम हुनसक्ने भएकाले विशेषगरी जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई समयमै सावधानी अपनाउन आग्रह गरिएको छ।