काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर १ बाट युवा नेता विवेक भट्टराईले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
३५ वर्षमुनिको युवा कोटातर्फ उम्मेदवारी घोषणा गरेका भट्टराई मेचीनगर नगरपालिका–१ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। क्षेत्रीय प्रतिनिधि चयन भएसँगै उनले महाधिवेशन प्रतिनिधिका लागि आफ्नो दाबी अघि सारेका हुन्। युवा पुस्ताको सहभागिता र नेतृत्वलाई पार्टीको संगठन निर्माणसँग जोड्ने उद्देश्यसहित उम्मेदवारी दिएको भट्टराईले बताएका छन्। उनका अनुसार कांग्रेसमा अग्रज पुस्ताको अनुभव र युवाको ऊर्जा तथा सिर्जनशीलतालाई समेट्दै संगठनलाई थप सुदृढ र जनमुखी बनाउने आवश्यकता छ।
‘अग्रजको अनुभव र युवाको जाँगरलाई एकसाथ अघि बढाउँदै सुदृढ, सबल र जनमुखी कांग्रेस निर्माण गर्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ,’ भट्टराईले भनेका छन्। भट्टराईले झापा क्षेत्र नम्बर १ का विभिन्न वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, पार्टीका अग्रज नेता तथा शुभेच्छुकहरूसँग भेटघाट र छलफललाई निरन्तरता दिइरहेका छन्। उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि युवाको आवाज पार्टीको महाधिवेशन तहसम्म पुर्याउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्। राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई आत्मसात गर्दै पार्टी संगठनलाई थप सक्रिय, जुझारु र जनतासँग जोडिएको बनाउन आफ्नो भूमिका रहने उनको भनाइ छ। साथै, उनले आफ्नो उम्मेदवारीमा क्षेत्रीय प्रतिनिधि, अग्रज नेतृत्व र पार्टी शुभेच्छुकको साथ तथा मार्गदर्शनको अपेक्षा गरेका छन्।