काठमाडौं ।युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले रोजगार खोज्ने व्यक्ति र जनशक्ति आवश्यक पर्ने रोजगारदाताबीचको दूरी कम गर्न सरकारले ‘जब म्याचिङ’ प्रणालीलाई प्रभावकारी बनाउने तयारी गरेको बताएका छन्।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सीप तथा रोजगार मेलाबारे जानकारी दिँदै मन्त्री यादवले चालु आर्थिक वर्षमा उक्त प्रणालीमार्फत एक लाख जनालाई रोजगारीसँग जोड्ने लक्ष्य रहेको बताए।उनका अनुसार विगतमा वैदेशिक रोजगारीलाई बढी प्राथमिकता दिइए पनि सरकारले अहिले स्वदेशमै रोजगारी तथा स्वरोजगारीका अवसर विस्तार गर्ने योजनालाई अघि सारेको छ। युवाको सीप र बजारको मागबीच तालमेल मिलाउन विभिन्न नीतिगत तथा कार्यक्रमगत काम अघि बढाइएको उनले बताए।
मन्त्री यादवले राष्ट्रिय रोजगार नीति २०७१ कार्यान्वयनका लागि आवश्यक कानुनी तथा प्रक्रियागत संरचना पर्याप्त रूपमा बन्न नसक्दा अपेक्षित परिणाम आउन नसकेको उल्लेख गरे। अहिले राष्ट्रिय रोजगार नीति २०८३ को मस्यौदामा सम्बन्धित मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको र मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको जानकारी दिए।मन्त्रालयले चालु आर्थिक वर्षमा १२ वटा प्रमुख रोजगार कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको छ। रोजगारदाता र रोजगारी खोज्ने दुवै पक्षलाई एउटै प्लेटफर्ममा ल्याएर आवश्यकताअनुसार जनशक्ति छनोट गर्ने वातावरण बनाउन सीप तथा रोजगार मेला आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ।सरकार र निजी क्षेत्रको सहकार्यमा आयोजना गरिने यस्तो मेला आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गर्दै सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको मन्त्री यादवले बताए