काठमाडौं ।मनास्लुमा हिमपहिरोमा परेर मृत्यु भएका दुई जनाको शव बुधबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
गोरखा प्रहरीले उनीहरूको शव सामागाउँबाट काठमाडौं ल्याइएको जनाएको छ।मृत्यु हुनेमा भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र सङ्खुवासभाको मकालु गाउँपालिका–२ का फुर्सेम्बा शेर्पा रहेका छन्। उनीहरू गत आइतबार राति मनास्लुको तेस्रो शिविर क्षेत्रमा गएको हिमपहिरोमा परेका थिए।घटनापछि उद्धार गरी शवलाई मंगलबार सामागाउँ पुर्याइएको थियो। त्यसपछि बुधबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। दुवै जना मकालु एड्भेञ्चर कम्पनीमार्फत मनास्लु आरोहणका लागि पुगेका थिए।
पछिल्लो घटनासँगै यस सिजन मनास्लु क्षेत्रमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। यसअघि सिङ्गापुरका ५० वर्षीय आरोही लाउवी सेङको दोस्रो शिविरमा तथा नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको आधार शिविरमा मृत्यु भएको थियो।यस सिजन मनास्लु आरोहणका लागि ४९३ विदेशीले अनुमति लिएका छन्। तर प्रतिकूल मौसमका कारण अहिलेसम्म आरोहण सफल हुन सकेको छैन। लगातारको हिमपात र वर्षाका कारण केही आरोही काठमाडौं फर्किन थालेका छन्।