काठमाडौं ।त्रिपुरेश्वरमा भएको आत्मदाह तथा बस आगजनी घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले काठमाडौंमा प्रदर्शन गरेको छ।
संगठनले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै घटनाको वास्तविक कारण सार्वजनिक गर्न माग गरेको हो।सोमबार त्रिपुरेश्वर क्षेत्रमा चालक अर्जुन दोङ तामाङ र ट्राफिक प्रहरीबीच विवाद भएपछि उनले बसमा आगजनी गरेको बताइएको छ। घटनामा गम्भीर घाइते भएका तामाङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।घटनाको पृष्ठभूमि, विवादको अवस्था तथा त्यसपछिका घटनाक्रमबारे निष्पक्ष रूपमा अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने प्रदर्शनकारीहरूको माग छ। साथै यातायात मजदुरको सुरक्षा र कार्यस्थलमा उत्पन्न हुने विवाद समाधानका लागि आवश्यक व्यवस्था गर्न पनि उनीहरूले आग्रह गरेका छन्।