काठमाडौं ।देशका विभिन्न क्षेत्रमा लगातार भारी वर्षाको सम्भावनासँगै बाढी र पहिरोको जोखिम बढेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यात्रु तथा यातायात व्यवसायीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
महासङ्घले असोज ८ देखि १२ गतेसम्म जोखिम उच्च हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा तथा रातिको समयमा सवारी सञ्चालन नगर्न अपिल गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागबाट जारी चेतावनीलाई आधार बनाएर महासङ्घले यस्तो आग्रह गरेको जनाएको छ।महासङ्घले सार्वजनिक तथा मालवाहक सवारी सञ्चालन गर्नुअघि सम्बन्धित सडक र मौसमको अवस्था बुझ्न व्यवसायी तथा चालकलाई अनुरोध गरेको छ। जोखिमयुक्त क्षेत्रमा सवारी चलाउनुपरे स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्न पनि भनिएको छ।
सम्भावित सडक अवरोध तत्काल हटाउन डोजर, एक्साभेटर र लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्नसमेत सम्बन्धित पक्षलाई आग्रह गरिएको छ। साथै, बाढी आउन सक्ने खोला–खहरे आसपास तथा पहिरोको जोखिम भएका बस्तीका नागरिकलाई पूर्वसावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान महासङ्घले अनुरोध गरेको छ।विपद्को समयमा आवश्यक सहयोगका लागि ११५५ मा बाढी तथा वर्षासम्बन्धी जानकारी लिन र ११४९ मा विपद् सहायता माग्न सकिने जनाइएको छ। तत्काल प्रहरी सहयोगका लागि १०० तथा सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न सकिने महासङ्घले जनाएको छ।महासङ्घले मौसम विभाग तथा विपद् व्यवस्थापन निकायबाट जारी हुने सूचना र चेतावनी नियमित रूपमा हेर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ।
_VEvoRH91Q3.webp)