काठमाडाैँ। कैलालीमा घरबाट हराएका एक व्यक्ति खोजी गर्ने क्रममा जंगलको भिरमा मृत अवस्थामा फेला परेका छन्।
घटनासँग जोडिएका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा घरबाट बेपत्ता भएका थिए। उनको खोजी गर्ने क्रममा तुलिखेतस्थित स्थानीय जंगलको भिरमा शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा सिंह महराका अनुसार घटनाअघि बोहरासहित ८ जना एकै ठाउँमा बसेर मदिरा सेवन गरेको खुलेको छ।
सोही क्रममा उनीहरूमध्ये केहीले बोहरालाई ‘मारिदिन्छु’ भन्दै गरेको भिडियोसमेत प्रहरीले फेला पारेको जनाएको छ। घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएका व्यक्तिहरूको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती ल्याइँदै गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलबाट मृतकको टोपी, मोबाइल र चप्पलसमेत बरामद भएको छ। घटनाको वास्तविक कारण र मृत्युको अवस्थाबारे थप अनुसन्धान भइरहेको छ। विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।