काठमाडौं ।देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ।
प्रहरीको विवरणअनुसार मकवानपुर, कैलाली र इलाममा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी फाखेल सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक विद्युतीय गाडी सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेमध्ये उपचाररत थप एक जनाको समेत मृत्यु भएपछि मृतक संख्या ९ पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अन्य यात्रुको उपचार भइरहेको छ।
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१९ आइगाउँ चोकमा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मानसिक अवस्था कमजोर रहेका पैदलयात्री राजकुमार चौधरीलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।उता, इलामको रोङ गाउँपालिका–५ देवनथान क्षेत्रमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। देवनथानबाट झापा जाने क्रममा ट्र्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा चालक अमित घिमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीले पछिल्ला दुर्घटनाका घटनालाई मध्यनजर गर्दै सवारी साधन चलाउँदा गति नियन्त्रण, सडकको अवस्था र यात्रुको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ।