काठमाडौं ।नेपालमा केही दिनयता मौसम प्रतिकूल बन्न सक्ने पूर्वानुमानसँगै पर्यटन क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने चेतावनी दिएपछि नेपाल पर्यटन बोर्डले पदयात्री, पर्वतारोही र अन्य पर्यटकीय गतिविधिमा सहभागीलाई सावधानी अपनाउन अनुरोध गरेको हो।असोज ९ देखि ११ गतेसम्म विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा ठूलो वर्षाको सम्भावना रहेको बोर्डले जनाएको छ। मौसमको अवस्था हेरेर आवश्यक परे ट्रेकिङ, आरोहण तथा अन्य कार्यक्रम केही समयका लागि रोक्नसमेत आग्रह गरिएको छ।
पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार अहिले नेपालमा पर्यटकीय गतिविधि बढिरहेको समय भएकाले मौसमको जोखिमलाई बेवास्ता गर्न नहुने अवस्था छ। हिमाल आरोहण, पदयात्रा, मेला तथा महोत्सवमा सहभागी हुनेहरूले वर्षा, हावाहुरी र चट्याङबाट जोगिन विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।मौसम विभागले कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने अनुमान गरेको छ। असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी तथा कतिपय क्षेत्रमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। अन्य प्रदेशका विभिन्न स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
लगातारको वर्षाका कारण बाढी, पहिरो र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम बढ्न सक्ने भएकाले पर्यटक तथा पर्यटन व्यवसायीलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित हेर्न बोर्डले आग्रह गरेको छ।यात्रा वा आरोहणको योजना बनाउँदा स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित पर्यटन व्यवसायीसँग समन्वय गर्न तथा जोखिम देखिएमा कार्यक्रम स्थगित गर्नसमेत बोर्डले सुझाव दिएको छ। सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै पर्यटकीय गतिविधि सञ्चालन गर्न बोर्डको आग्रह छ।