काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। स्थानीय तहमा पार्टीको सांगठनिक संरचना निर्माण तथा नेतृत्व चयन गर्ने प्रक्रियाअन्तर्गत पालिका अधिवेशन हुन लागेको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही स्थानबाहेक अधिकांश वडामा नेतृत्व चयनको प्रक्रिया सम्पन्न भइसकेको छ। बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका वडामा समेत मंगलबार अधिवेशन सम्पन्न भएको छ। मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सकिएको समितिले जनाएको छ।
बाढीपहिरोबाट प्रभावित रसुवामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्रै अधिवेशन गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ। नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्। एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव चयन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्ने प्रावधान रहेको छ। पालिका अधिवेशनपछि कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थप तहका अधिवेशन हुँदै केन्द्रीय महाधिवेशनतर्फ प्रक्रिया अघि बढ्नेछ। कांग्रेसको प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तय गरिएको छ।