काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै इरानलाई अमेरिकासँग सम्झौता गर्न चेतावनी दिएका छन्।
उनले सम्झौता नभए इरानले गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्। ट्रम्पले युक्रेन–रुस युद्ध अन्त्यको नजिक पुगेको दाबी गर्दै आफ्नो धारणा राखेका छन्। साथै, उनले कृत्रिम बुद्धिमत्ता (एआई) लाई ‘सुपर इन्टेलिजेन्स’ नाम दिनुपर्ने विषयसमेत उठाएका छन्। यस वर्षको महासभामा विश्वभरका करिब १३० राष्ट्र तथा सरकार प्रमुख सहभागी छन्। उद्घाटन सत्रमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा विद्यमान विभाजन र तनाव थप गहिरिँदै गएको बताएका छन्। यसैबीच, महासभामा सम्बोधनपछि ट्रम्पले डेनमार्क र ग्रिनल्यान्डका नेताहरूसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। ट्रम्पले यो सम्झौता लामो समयदेखि छलफलमा रहेको बताउँदै यसले तीन पक्षबीच दीर्घकालीन सम्बन्धलाई थप मजबुत बनाउने दाबी गरेका छन्। सम्झौतामा अमेरिकी राष्ट्रपति ट्रम्प, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सन र ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेन सहभागी थिए।
डेनमार्ककी प्रधानमन्त्री फ्रेडरिक्सनले सम्झौताले बाह्य शक्तिबाट ग्रिनल्यान्डको सुरक्षामा उत्पन्न हुन सक्ने अमेरिकी चिन्तालाई सम्बोधन गर्ने तथा डेनमार्क र ग्रिनल्यान्डका अधिकारलाई सम्मान गर्ने बताएकी छन्। ग्रिनल्यान्डका प्रधानमन्त्री निल्सेनले पनि सम्झौतालाई सकारात्मक रूपमा लिँदै अमेरिका र पश्चिमी गठबन्धनसँगको सम्बन्धलाई निरन्तरता दिने बताएका छन्। यसअघि ट्रम्पले ग्रिनल्यान्डमा दुई ठूला अमेरिकी सैन्य निर्माण गर्ने बताएका थिए। तर, ग्रिनल्यान्डलाई अमेरिकाले आफ्नो स्वामित्वमा लिनुपर्ने उनको अघिल्लो प्रस्तावलाई डेनमार्क र ग्रिनल्यान्डले अस्वीकार गरेका थिए।