काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेका छन्।
उनको यो विदेश भ्रमण विगतका प्रधानमन्त्रीहरूको भ्रमणभन्दा केही फरक देखिएको छ। प्रधानमन्त्री विदेश जाँदा विमानस्थलमा हुने औपचारिक बिदाइको परम्परागत शैली यसपटक देखिएन। विगतमा नेपाली सेनाको सलामी, रातो कार्पेट तथा मन्त्री, सुरक्षा निकायका प्रमुख र उच्चपदस्थ अधिकारीहरूको बाक्लो उपस्थिति हुने गरे पनि शाहलाई बिदाइ गर्न गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री गनेश पौडेल मात्र विमानस्थल पुगे।
त्यस्तै, विगतमा प्रधानमन्त्रीहरूले विदेश भ्रमणका क्रममा पत्नीलाई समेत साथ लैजाने गरेको भए पनि शाह भने एक्लै अमेरिका गएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि भ्रमणको उद्देश्य तथा एजेन्डाबारे संसदलाई औपचारिक जानकारी नदिइएको विषय पनि चर्चामा आएको छ। साथै, देशमा विपद्को अवस्था रहेकाले विदेशमा उठाइने विषयमा विज्ञ तथा अनुभवी व्यक्तिहरूसँग पर्याप्त छलफल नगरिएको दाबी गरिएको छ।
शाहको अमेरिका भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिवबाहेक अन्य उच्चस्तरीय भेटघाटको औपचारिक कार्यक्रम नरहेको बताइएको छ। उनी असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते नेपाल फर्किने कार्यक्रम छ। अन्य भेटघाटको समन्वय भने परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने बताइएको छ। यसबीच नेकपा एमाले विदेश विभागका सदस्य तथा अन्तर्राष्ट्रिय मामिलाका जानकार विष्णु रिजालले प्रधानमन्त्रीको विदेश भ्रमणमा आवश्यक मर्यादा र परम्पराको ख्याल गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले भ्रमणको उद्देश्य, तयारी र अन्तर्राष्ट्रिय भेटघाटबारे पर्याप्त स्पष्टता हुनुपर्ने बताएका छन्। रिजालले महासभा अन्तर्राष्ट्रिय नेताहरूसँग द्विपक्षीय तथा साइडलाइन छलफल गर्ने महत्वपूर्ण अवसर भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिइएको दाबी गरेका छन्।