काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले हालैको बाढीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोगका लागि इन्जिनियर तथा आर्किटेक्टहरूको टोली परिचालन गर्ने भएको छ।
बाढीबाट प्रभावित स्थानीय तहलाई पत्राचार गर्दै आवश्यक प्राविधिक सहयोगबारे विवरण मागेको एसोसिएसनले स्थानीय तहबाट प्राप्त अनुरोध र आवश्यकताका आधारमा टोली खटाउने जनाएको हो। एसोसिएसनका अनुसार बाढीका कारण क्षति पुगेका भवन तथा अन्य संरचनाको अवस्था मूल्यांकन, पूर्वाधार निरीक्षण, जोखिम पहिचान तथा सुरक्षित पुनर्स्थापना र पुनर्निर्माणका लागि दक्ष तथा अनुभवी प्राविधिक जनशक्ति परिचालन गरिनेछ।
प्रभावित क्षेत्रको स्थलगत अवस्था हेरेर क्षतिग्रस्त संरचनाको मूल्यांकनसँगै पुनर्निर्माणका लागि आवश्यक प्राविधिक परामर्शसमेत उपलब्ध गराइने एसोसिएसनले जनाएको छ। थप प्राविधिक जनशक्ति वा सहयोग आवश्यक परे संघ, प्रदेश तथा स्थानीय सरकारसहित सम्बन्धित सरकारी निकाय, संघसंस्था र समुदायसँग समन्वय गरेर काम अघि बढाउने एसोसिएसनको तयारी छ। बाढी प्रभावित क्षेत्रको सुरक्षित पुनर्स्थापना र पुनर्निर्माणका लागि प्राविधिक सहयोग आवश्यक पर्ने सम्बन्धित पक्षलाई एसोसिएसनसँग समन्वय र सम्पर्क गर्न आग्रह गरिएको छ।