काठमाडौँ । आगामी असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानपछि गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग पुगेर मौसमको अवस्थाबारे जानकारी लिएका छन्।
मंगलबार विभाग पुगेका मन्त्रीद्वयले मौसमको पछिल्लो अवस्था, सम्भावित वर्षाको प्रभाव र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने तयारीबारे सम्बन्धित अधिकारीसँग छलफल गरेका हुन्। मौसमविद्हरूले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जानकारी दिएका छन्। उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनासमेत रहेको उनीहरूले बताएका छन्।
विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षा हुनसक्छ। मधेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णालीका केही स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। हाल बंगालको खाडीको मध्य भाग आसपास रहेको न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने अनुमान गरिएको छ। यसको प्रभावले बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने विभागले जनाएको छ।