काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले धनकुटाको प्रमुख पर्यटकीय गन्तव्य हिले बजारमा लामो समयदेखि रोक्का रहेको जग्गा तत्काल फुकुवा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले जग्गा रोक्का हुँदा स्थानीय बासिन्दा र व्यवसायीको ठूलो लगानी जोखिममा परेको बताए। उनले भूमिसुधार मन्त्रालयमा रोकिएको प्रक्रिया छिटो टुंग्याएर नागरिकलाई सहज बनाउन सरकारसँग आग्रह गरे। राईका अनुसार हिले बजारमा जग्गा रोक्का भएका कारण आर्थिक गतिविधिमा समेत असर परेको छ। भारत, बंगलादेश, भुटान र सिक्किमलगायत क्षेत्रबाट पर्यटक आउने यस क्षेत्रमा व्यवसायी तथा स्थानीयले करोडौँ रुपैयाँ लगानी गरेर संरचना निर्माण गरे पनि त्यसको उपयोग र आर्थिक कारोबारमा समस्या भइरहेको उनले बताए।
उनले विसं २०६६ मा उत्तरपानी चिया बगान प्रणालीअन्तर्गत रहेको १ हजार १५१ रोपनी जग्गामध्ये १४८ रोपनी जग्गा मन्त्रालयको निर्णयअनुसार सट्टापट्टा गरिएको जानकारी दिए। त्यस क्रममा विभिन्न सार्वजनिक संरचना निर्माण गर्नुका साथै स्थानीय बासिन्दालाई समेत जग्गाको लालपुर्जा वितरण गरिएको उनको भनाइ छ। राईका अनुसार त्यही जग्गामा संघीय सरकारको बजेटबाट खेलमैदान, नगरपालिकाको लगानीमा बसपार्क, वडा कार्यालयको पहलमा समाधिस्थल र वक्रकुण्ड मन्दिर निर्माण भएका छन्। साथै २६६ जना स्थानीयले निजी घर तथा व्यावसायिक भवनसमेत बनाएका छन्।
तर, विसं २०७१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मौखिक रूपमा र २०७५ मा औपचारिक रूपमा जग्गा रोक्का गरेपछि समस्या सुरु भएको उनले बताए। त्यसपछि स्थानीयवासी विशेष अदालत पुगेको र अदालतले आवश्यक निर्णय गर्ने अधिकार भूमिसुधार मन्त्रालयलाई दिएको सांसद राईले सदनमा जानकारी गराए। जग्गा रोक्का भएका कारण व्यवसायीहरूले ३ देखि ४ अर्ब रुपैयाँ बराबरका संरचना निर्माण गरे पनि बैंकिङ कारोबार गर्न तथा कर्जा लिन नसकेको राईको भनाइ छ। उनका अनुसार जिल्ला समन्वय समितिको नेतृत्वमा मालपोत, नापी, वन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि सहभागी समितिले स्थलगत सर्जमिनसहितको प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको छ। तर, त्यसपछि पनि प्रक्रिया अघि नबढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। सरकारले सुशासन र छिटो सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएकाले हिलेका स्थानीयको लामो समयदेखिको समस्या अब ढिला नगरी समाधान गर्नुपर्ने राईले बताए।