काठमाडौं ।नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१० मा किरियापुत्री बसेको घरको कोठाभित्र गोमन सर्प पसेपछि केही समय परिवारका सदस्यहरूमा त्रास फैलिएको छ।
स्थानीय शेषकान्त पौडेलका बुवाको निधन भएपछि उनका छोराहरू परम्पराअनुसार किरियामा बसेका थिए। सोही क्रममा किरियापुत्रीहरू बसेको कोठामा अचानक ठूलो गोमन सर्प देखिएपछि परिवारका सदस्यहरू आत्तिएका थिए।सर्प देखिएपछि परिवारले आफैँ नियन्त्रणमा लिने प्रयास नगरी बर्दघाट नगरपालिकामा कार्यरत सर्प उद्धारकर्मी दुर्गा लामिछानेलाई खबर गरेका थिए।
जानकारी पाएपछि घटनास्थल पुगेका लामिछानेले आवश्यक सावधानी अपनाउँदै कोठाभित्र रहेको गोमन सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिए। त्यसपछि सर्पलाई बस्तीबाट बाहिर लगेर सुरक्षित स्थानमा छाडिएको उनले बताएका छन्।लामिछाने बर्दघाट नगरपालिकामा चालकका रूपमा कार्यरत छन्। उनले पछिल्ला केही वर्षदेखि नवलपरासी क्षेत्रमा घर तथा बस्तीमा प्रवेश गर्ने सर्पको उद्धार गर्दै आएका छन्।
उनका अनुसार गर्मी बढेसँगै नवलपरासी क्षेत्रमा विषालु सर्पको गतिविधि पनि बढ्ने गरेको छ। घरभित्र सर्प देखिएमा डराएर मार्ने वा आफैँ समात्ने प्रयास नगरी तत्काल सर्प उद्धारकर्मीलाई जानकारी गराउन उनले स्थानीयलाई आग्रह गरेका छन्।सर्प उद्धारसँगै लामिछानेले स्थानीयलाई विषालु सर्पबाट जोगिने उपायबारे समेत सचेत गराउँदै आएका छन्।