काठमाडौं ।नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीमा भएको कुटपिटमा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानका ३० वर्षीय सञ्जय गुप्ता रहेका छन्। प्रहरीका अनुसार भदौ २९ गते साँझ मदिरा सेवन गरेका सञ्जय सुनिल प्रसाद गुप्ताको घरमा पुगेका थिए। त्यही क्रममा उनीहरूबीच सामान्य विवाद भएपछि सुनिलले सञ्जयमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।कुटपिटका कारण सञ्जयको दाहिने कानमा गम्भीर चोट लागेको थियो भने कानबाट रक्तस्रावसमेत भएको थियो। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल परासी पुर्याइएको थियो।
जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि सञ्जयलाई रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा पठाइएको थियो। उपचार जारी रहेकै अवस्थामा मंगलबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी मदन थापाले जानकारी दिएका छन्।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुनिल प्रसाद गुप्तालाई पक्राउ गरेको छ। उनलाई जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।