काठमाडौं ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद खगेन्द्र सुनारले क्यान्टिनमा राखिएको खाद्य सामग्रीको मूल्य महँगो भएको विषय उठाएका थिए।
सांसद सुनारका अनुसार क्यान्टिनमा कालो चियाको मूल्य १ सय रुपैयाँ तथा ममको मूल्य ३ सय रुपैयाँ तोकिएको छ। उनले सांसद, कर्मचारी र मर्यादापालकको आर्थिक अवस्थालाई समेत ध्यानमा राखेर क्यान्टिनका वस्तुको मूल्य निर्धारण गर्न संसद् सचिवालयसँग आग्रह गरेका थिए।संसद् परिसरमा उपलब्ध खानेकुराको मूल्य सर्वसाधारणले समेत सहज रूपमा किन्न सक्ने स्तरमा हुनुपर्ने उनको भनाइ थियो।सोमबार सदनमा मूल्यबारे प्रश्न उठेपछि मंगलबार सांसदका लागि सञ्चालनमा रहेको उक्त क्यान्टिन बन्द गरिएको हो। क्यान्टिन आगामी दिनमा पुनः सञ्चालन हुने वा नहुनेबारे भने स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।