काठमाडौं ।लगातार वर्षा र भारी हिमपात भएपछि मनास्लु हिमाल आरोहणका लागि पुगेका आरोहीहरू बीच बाटोबाटै फर्किन थालेका छन्।
प्रतिकूल मौसमका कारण आरोहणको वातावरण बिग्रिएपछि उनीहरूले यात्रा छोट्याएर घर फर्किन थालेका हुन्।चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाका अनुसार आरोहीहरूले करिब दुई सातासम्म मौसम खुल्ने प्रतीक्षा गरे पनि अवस्था सुधार नभएपछि फर्किन थालेका हुन्।उनका अनुसार मनास्लु क्षेत्रमा पछिल्लो समय निरन्तर वर्षासँगै बाक्लो हिमपात भइरहेको छ। कतिपय क्षेत्रमा करिब पाँच फिटसम्म हिउँ जमेको छ। सरकारले समेत केही दिन मौसम प्रतिकूल रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेपछि आरोहीहरू फर्किन थालेको उनले बताए।
स्थानीय व्यवसायीहरूका अनुसार यसपटकको वर्षा र हिमपात विगतका वर्षको तुलनामा असामान्य देखिएको छ। मनास्लु आधार शिविरमा करिब तीन फिटसम्म हिउँ जमेको र माथिल्ला क्याम्पहरूमा सातदेखि आठ फिटसम्म हिमपात भएको बताइएको छ।मौसममा सुधार आए पनि यसै आरोहण सिजनमा पुनः फर्किएर हिमाल चढ्ने सम्भावना कम रहेको स्थानीयको भनाइ छ। प्रतिकूल मौसमका कारण अहिलेसम्म करिब १० प्रतिशत आरोही फर्किसकेको बताइएको छ।
आठ हजार एक सय त्रिसट्ठी मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस सिजन करिब पाँच सय जनाले अनुमति लिएका छन्। मनास्लु विश्वका चर्चित आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये एक हो।यसअघि पनि मनास्लु क्षेत्रमा हिमपहिरो र खराब मौसमका कारण आरोही तथा अन्य व्यक्तिको ज्यान जाने घटना भएका छन्। पछिल्लो मौसमले आरोहण गतिविधिमा थप चुनौती सिर्जना गरेको छ।