काठमाडौं । प्रधानमन्त्री बालेन शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच नेपाल–मलेसिया वैदेशिक रोजगारीका विषयमा टेलिफोन वार्ता भएको छ।
मंगलबार बिहान भएको कुराकानीमा नेपाली श्रमिकले मलेसियामा रोजगारीका क्रममा भोगिरहेका समस्या र त्यसको समाधानका उपायबारे छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन्। उनले मलेसियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट र बिचौलियाको प्रभाव नेपाल सरकारलाई स्वीकार्य नभएको स्पष्ट पारे।
शाहले यस्तो प्रवृत्तिका कारण नेपाली श्रमिक प्रत्यक्ष रूपमा प्रभावित भइरहेको भन्दै समस्या दीर्घकालीन रूपमा समाधान गर्न दुवै देशका श्रम मन्त्रालयबीच प्रत्यक्ष संवाद र सहकार्य आवश्यक रहेको बताए। प्रधानमन्त्री शाहको प्रस्तावप्रति मलेसियाका प्रधानमन्त्री इब्राहिमले सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ। उनले आफू पनि सिन्डिकेट तथा शोषणकारी प्रणालीको विपक्षमा रहेको भन्दै मलेसियाका श्रममन्त्रीलाई नेपाली समकक्षीसँग समन्वय गरेर ठोस समाधान खोज्न निर्देशन दिने प्रतिबद्धता जनाएका छन्। यसअघि मलेसियाले विदेशी श्रमिक व्यवस्थापन प्रणाली एफडब्लूसीएमएसमा नेपालका निश्चित म्यानपावर कम्पनीलाई मात्रै सूचीकृत गरेपछि विवाद उत्पन्न भएको थियो। यही कारण नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी प्रभावित हुनसक्ने भन्दै चिन्ता व्यक्त हुँदै आएको छ।