काठमाडौं ।जेन्जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर र शाखा कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले काठमाडौं र सिराहाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ४८ वर्षीय सन्तोषकुमार शाह र सिराहाको अर्नमा गाउँपालिका–२ का २९ वर्षीय धिरजकुमार महतो रहेका छन्।प्रहरीका अनुसार शाहलाई काठमाडौं महानगरपालिका–३१ क्षेत्रबाट पक्राउ गरिएको हो। उनी लागूऔषध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंमा हिरासतमा रहेका बेला जेन्जी आन्दोलनका क्रममा भागेका थिए।
यस्तै, महतोलाई सिराहाको अर्नमा गाउँपालिका–२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी लागूऔषध नियन्त्रण ब्युरोमा दर्ता भएको मुद्दामा फरार रहेका थिए।प्रहरीले दुवै जनालाई पक्राउ गरी उनीहरूविरुद्धको लागूऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाएको जनाएको छ।प्रहरीका अनुसार सन्तोषकुमार शाह यसअघि पनि लागूऔषध मुद्दामा पक्राउ परेका थिए। उनी लागूऔषध कोकिनसहित पक्राउ परी अदालतबाट कैद तथा जरिवाना तोकिएको अवस्थामा पुनः पक्राउ परेका थिए।