काठमाडौं ।राष्ट्रियसभाले ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ।
सोमबार बसेको राष्ट्रियसभा बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले विधेयक पारित गर्न प्रस्ताव पेस गरेकी थिइन्। छलफलपछि सभाले उक्त प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको हो।यसअघि पनि सोही बैठकमा विधेयक छलफलका लागि प्रस्तुत गरिएको थियो। प्रस्ताव पेस गर्ने क्रममा मन्त्री चौधरीले नेपालमा सङ्क्रामक पशु रोगको पछिल्लो अवस्था, रोग नियन्त्रणका लागि विद्यमान कानुनी व्यवस्था पर्याप्त नरहेको अवस्था तथा नयाँ विधेयकको आवश्यकता र उद्देश्यबारे जानकारी दिएकी थिइन्।
विधायन व्यवस्थापन समितिमा विधेयकका विभिन्न दफामाथि सदस्यहरूले संशोधन प्रस्ताव राखेका थिए। ती प्रस्तावमाथि दफावार छलफल गर्दै विधेयकलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाइएको मन्त्री चौधरीले बताइन्।विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सदस्यहरू प्रेमप्रसाद दङ्गाल, सुरेश आलेमगर, खम्मबहादुर खाती, रामकुमारी झाँक्री, विष्णुबहादुर विश्वकर्मा र सम्झना देवकोटाले धारणा राखेका थिए।राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको अर्को बैठक असोज ८ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने जानकारी दिएका छन्।