काठमाडौं ।दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा यात्रुहरूलाई सुरक्षित र सहज यातायात सेवा उपलब्ध गराउने विषयमा यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल गरेको छ।
देशभरका सडकको कमजोर अवस्था र मौसममा देखिएको प्रतिकूलताका कारण सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने विषयमा सोमबारको बैठकले ठोस निर्णय गर्न सकेन।यातायात व्यवस्था विभागले सडक विभाग, नेपाल प्रहरीको राजमार्ग सुरक्षा महाशाखा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नाडा, नाइमा, उपभोक्ता हित संरक्षण मञ्च तथा ल्होत्से बहुउद्देश्यीय सहकारीलगायत प्रतिनिधिलाई छलफलमा बोलाएको थियो।विभागको सभाहलमा भएको छलफलमा पछिल्लो समयको प्रतिकूल मौसम, बाढी तथा पहिरोका कारण क्षतिग्रस्त सडक र यात्रुको सुरक्षामा देखिएका चुनौतीबारे छलफल भएको थियो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सडकको अवस्था सुधार नभएसम्म अग्रिम टिकट खोल्न हतार गर्न नहुने बताएका छन्। उनका अनुसार यात्रुले टिकट पाउनु मात्र पर्याप्त नभई सुरक्षित रूपमा गन्तव्यमा पुग्ने वातावरण सुनिश्चित गर्नु अहिलेको मुख्य विषय हो।उनले वर्षा र प्राकृतिक विपत्तिका कारण उपत्यकाबाट बाहिरिने मुख्य सडकसँगै देशका विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रका सडकसमेत जोखिमपूर्ण अवस्थामा पुगेको बताए।सडकको अवस्था र यातायात सुरक्षाबारे थप तयारी आवश्यक देखिएपछि सोमबारको बैठक निष्कर्षमा पुग्न सकेन। व्यवसायी तथा सम्बन्धित निकायले आवश्यक गृहकार्य पूरा गरेपछि पुनः बैठक बसेर अग्रिम टिकट बुकिङ खोल्ने मिति तय गरिने महासंघ अध्यक्ष सिटौलाले जानकारी दिए।