काठमाडौं ।काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै बसमा आगलागी भएपछि राहदानीसम्बन्धी सेवा प्रभावित भएको छ।
विभाग नजिकको सडकमा गुडिरहेको बसमा आगो लागेपछि आसपासको विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको विभागले जनाएको छ। सेवा अवरुद्ध हुँदा विभागको मुख्य सर्भर र प्राविधिक प्रणाली सञ्चालनमा समस्या आएपछि राहदानी छपाइको काम प्रभावित भएको हो।छपाइमा अवरोध आएपछि तयार भइसकेका र प्रक्रियामा रहेका राहदानी सेवाग्राहीलाई तोकिएको समयमा वितरण गर्न कठिनाइ भएको विभागले जनाएको छ।
तर नयाँ राहदानी बनाउन आवश्यक आवेदन संकलनको काम भने नियमित रूपमा भइरहेको विभागले स्पष्ट पारेको छ।अवरुद्ध विद्युत् र इन्टरनेट सेवा पुनः सञ्चालनमा ल्याउन मर्मत तथा प्राविधिक काम तीव्र रूपमा भइरहेको विभागले जनाएको छ।
