काठमाडौं ।प्रतिनिधि सभाले ‘बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३’ लाई थप छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विधेयकमाथि दफावार छलफल गर्न समितिमा पठाउनुपर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उक्त प्रस्तावमाथि सदनबाट सर्वसम्मति जनाएपछि विधेयक समितिमा पठाउने निर्णय भएको हो।प्रस्तावित संशोधनमार्फत बालबालिकाको अधिकार र संरक्षणसँग सम्बन्धित विद्यमान कानुनी व्यवस्थालाई समयानुकूल बनाउने तथा देखिएका कानुनी त्रुटि सुधार गर्ने उद्देश्य राखिएको छ।
अब सम्बन्धित संसदीय समितिमा विधेयकमाथि दफावार छलफल हुनेछ। समितिले छलफलपछि तयार पार्ने प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेसँगै विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।